घ्याङलेख गाउँपालिकाद्वारा किशोर–किशोरीका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरिने

bulbulnews.com

वैशाख २५, सिन्धुली। सिन्धुलीको घ्याङलेख गाउँपालिका ले किशोर–किशोरीहरूको सीप विकास तथा सूचना प्रविधिमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क आधारभूत कम्प्युटर तालिम सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाद्वारा प्रकाशित सूचनाअनुसार ४५ दिने उक्त तालिम घ्याङलेख गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका एस.ई.ई. तथा कक्षा १२ को परीक्षा दिई बसेका इच्छुक विद्यार्थी एवं किशोर–किशोरीहरूलाई लक्षित गरिएको छ।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र गाउँपालिकाले उपलब्ध गराएको निर्धारित ढाँचाको निवेदनसहित आवेदन दिन सक्ने जनाइएको छ। आवेदन गाउँपालिकाको इमेल ठेगाना मार्फत वा स्वयं उपस्थित भई पेश गर्न सकिने व्यवस्था गरिएको छ।

सूचनाअनुसार तालिम श्री नेत्रकाली माध्यमिक विद्यालय को कम्प्युटर ल्याबमा सञ्चालन गरिनेछ। साथै, आवेदन पेश गर्ने स्थान घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय हायुटार तथा वडा नं. ५ को वडा कार्यालय रामपुर तोकिएको छ।


गाउँपालिकाले सूचना प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान र दक्षता विकासमार्फत युवाहरूलाई सक्षम बनाउने लक्ष्यसहित उक्त कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।


प्रतिक्रिया