सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नम्बर २ र ३ अन्तर्गत पर्ने मरिण खोलामा पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ। बागमती प्रदेश भौतिक पूर्वाधार विकास योजना शाखा कार्यालय सिन्धुलीसँग समन्वय गरी पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने उद्देश्यले स्थलगत सर्वेक्षण सम्पन्न गरिएको हो।
आज सम्पन्न सर्वेक्षणमा वडा नम्बर २ का वडा अध्यक्ष रोशन कुमार भ्लोन, प्राविधिक टोली तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा पक्की पुल निर्माण भएपछि वर्षायाममा हुने आवतजावतको समस्या समाधान हुनुका साथै शिक्षा, स्वास्थ्य, कृषि तथा दैनिक जनजीवनमा सहजता आउने अपेक्षा गरिएको छ।
यस योजनाको बजेट व्यवस्थापन तथा समन्वयका लागि महत्वपूर्ण पहल गर्नुभएको बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ प्रति स्थानीयवासीले हार्दिक धन्यवाद तथा विशेष आभार व्यक्त गरेका छन्। उहाँको सक्रिय पहलले स्थानीय विकास र नागरिकको सुरक्षित तथा सहज आवतजावतमा महत्वपूर्ण योगदान पुग्ने विश्वास घ्याङ्लेखवासीले लिएका छन्।