सिन्धुली — घ्याङलेख गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ को विद्यालयगत नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार गाउँपालिकाभित्रका ६ विद्यालयबाट परीक्षामा सहभागी भएका कुल २३१ विद्यार्थीमध्ये २०४ जना उत्तीर्ण भएका छन्। यससँगै गाउँपालिकाको समग्र उत्तीर्ण प्रतिशत ८८.३१ रहेको छ।
यस वर्षको नतिजामा श्री मा.वि. मरिण हायुटारले उत्कृष्ट प्रदर्शन गर्दै शतप्रतिशत नतिजा हासिल गरेको छ। उक्त विद्यालयबाट सहभागी सबै ४६ जना विद्यार्थी उत्तीर्ण भएका हुन्।
त्यस्तै, श्री नेत्रकाली मा.वि. आँपडाँडा रामपुरले पनि उल्लेखनीय नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी ६७ विद्यार्थीतध्ये ६३ जना उत्तीर्ण भएका छन् भने विद्यालयको उत्तीर्ण प्रतिशत ९४.० रहेको छ।
श्री मा.वि. अमलेबाट परीक्षामा सहभागी २८ विद्यार्थीतध्ये २५ जना उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ८९.३ रहेको छ। त्यसैगरी, श्री नेत्रकाली मा.वि. तामाजोरबाट सहभागी २४ विद्यार्थीतध्ये २० जना उत्तीर्ण भई विद्यालयले ८३.३ प्रतिशत नतिजा हासिल गरेको छ।
यता, श्री जनजागृति मा.वि. गोपेबाट परीक्षामा सहभागी ३९ विद्यार्थीतध्ये ३१ जना उत्तीर्ण भएका छन् भने विद्यालयको उत्तीर्ण प्रतिशत ७९.५ रहेको छ। श्री शारदा मा.वि. भैँसेबाट सहभागी २७ विद्यार्थीतध्ये १९ जना उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ७०.४ रहेको विवरणमा उल्लेख छ।
गाउँपालिकाभित्रका विद्यालयहरूले यस वर्ष समग्रमा सन्तोषजनक नतिजा हासिल गरेको शिक्षा क्षेत्रका सरोकारवालाहरूले बताएका छन्। विशेष गरी एक विद्यालयले शतप्रतिशत नतिजा ल्याउनु तथा अधिकांश विद्यालयको उत्तीर्ण प्रतिशत उच्च रहनु शिक्षा क्षेत्रमा सकारात्मक संकेतका रूपमा हेरिएको छ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको मेहनत र समन्वयका कारण नतिजा उत्साहजनक बनेको स्थानीय तहले जनाएको छ। साथै आगामी वर्षमा अझ गुणस्तरीय र उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित शैक्षिक सुधारका कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताइएको छ।