काठमाडौ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताका लागि नेपालको अन्तिम टोली सार्वजनिक गरेको छ। मुख्य प्रशिक्षक नवीन न्यौपाने ले छनोट गरेको टोलीमा नयाँ खेलाडी र अनुभवी खेलाडीहरूको पुनरागमन दुवै देखिएको छ।
घोषित टोलीमा अनिता लम्जेल र बिर्सना चौधरीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्। यस्तै गीता राना, सविना चौधरी र अनिता केसी लामो समयपछि पुनः राष्ट्रिय टोलीमा फर्किएका छन्।
यसअघि नियमित रूपमा टोलीमा रहँदै आएका सरस्वती हमाल र मनमाया दमाईं भने यसपटक अन्तिम टोलीमा अटाउन सकेनन्।
भारतको गोवामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा श्रीलंका र भुटान रहेका छन् भने समूह ‘बी’ मा साविक विजेता बङ्गलादेश, आयोजक भारत र मालदिभ्स समावेश छन्।
नेपालले प्रतियोगिताको उद्घाटन खेलमा जेठ ११ गते भुटानविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ।