सिन्धुली, जेठ ६ — सिन्धुलीको घ्याङलेख गाउँपालिकामा ४५ दिने किशोर–किशोरी आधारभूत कम्प्युटर तालिम आज देखि सुरु भएको छ।
गाउँपालिका को आयोजना तथा आई.टि.एम. हव प्रा.लि. सिन्धुलीको सहजीकरणमा श्री नेत्रकाली माध्यमिक विद्यालय मा ४५ दिने किशोर–किशोरी आधारभूत कम्प्युटर तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
४५ दिने उक्त तालिममार्फत सहभागी विद्यार्थीहरूलाई आधारभूत कम्प्युटर सञ्चालन, डिजिटल साक्षरता तथा सूचना प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ। गाउँपालिकाले यस तालिमले स्थानीय किशोर–किशोरीहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्दै भविष्यमा रोजगारी तथा अध्ययनका अवसरहरूमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलान को अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल, वडा नं. ५ का कार्यवाहक वडा अध्यक्ष बसन्त नारायण वाईबा, नेत्रकाली मावि रामपुरका प्रधानाध्यापक मधुसुधन सापकोटा, गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा तालिममा सहभागी विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै कम्प्युटर शिक्षा आजको आवश्यकता बनेको उल्लेख गर्दै यस्ता तालिमले ग्रामीण क्षेत्रका किशोर–किशोरीहरूलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताएका थिए।